
काठमाडौं । युवा अभियानकर्मी मिराज ढुंगानाले ‘गरिखान देऊ’ अभियानलाई नयाँ राजनीतिक दलको स्वरूप दिने घोषणा गरेका छन् । आज (शनिबार) काठमाडौंको एभरेष्ट इन्टरनेसनल होटल, नयाँ बानेश्वरबा नयाँ राजनीतिक दल घोषणाको तयारीमा जुटेको जानकारी दिएका हुन् ।
ढुंगानाले देशमा विद्यमान समस्याहरूको समाधानका लागि परम्परागत राजनीतिक प्रणाली पर्याप्त नभएको भन्दै वैकल्पिक शक्तिको आवश्यकता औंल्याए । उनले आगामी मार्गचित्र स्पष्ट पार्दै भने, ‘देश अहिले विषम परिस्थितिमा छ । भदौ २४ को ऐतिहासिक विद्रोहमा ४६ जनाको बलिदानले प्राप्त उपलब्धिहरूको रक्षा र देशको आगामी निकास आजको आवश्यकता हो ।’
ढुंगानाले आफ्नो नयाँ दलको मुख्य एजेन्डाका रूपमा तीन प्रमुख मागहरू अघि सारेका छन्:-
१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : देशमा राजनीतिक स्थिरता र प्रभावकारी शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली अपरिहार्य रहेको उनको भनाइ छ । यसले प्रधानमन्त्रीलाई जनताप्रति थप जवाफदेही बनाउने र अस्थिर सरकारको अन्त्य गर्ने विश्वास उनको छ।
२. विदेशमा रहेका नेपालीलाई मताधिकार : लाखौंको संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि ढुंगानाको प्राथमिकतामा परेको छ । यसले देशको निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई स्वीकार गर्ने उनको तर्क छ ।
३. भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना : देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि सशक्त नागरिक तहको संरचना आवश्यक रहेको ढुंगानाले बताए । यसले राज्यका निकायहरूलाई जवाफदेही बनाउनुका साथै सुशासन कायम गर्न मद्दत पुग्ने उनको धारणा छ ।
ढुंगानाले यी मागहरू पूरा नभएसम्म आफ्नो दल निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि- हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं । जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं ।’
सूचना :-
#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues