0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौं । तिहारको रमझम सुरु नहुँदै जनकपुरधामको सोनारपट्टी क्षेत्रमा झडप भएको छ । एक नवनिर्मित ज्वेलर्समा प्रहरीले छापा मार्ने क्रममा बिहीबार साँझ व्यवसायी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी गम्भीर घाइते भएका छन् भने १० जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

के थियो घटना ?
जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुख डिएसपी गणेशबहादुर बमका अनुसार, जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा भर्खरै सञ्चालनमा आएको संजय ठाकुरको ज्वेलर्समा बिलबिजक नभएको अवैध चाँदीको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली राति ८ बजेतिर सिभिल पोसाकमा पुगेको थियो । प्रहरीले अनुसन्धानका क्रममा करिब ७ किलो अवैध चाँदी बरामद गरेको दाबी गरेको छ ।

डिएसपी बमका अनुसार, बरामद चाँदीको मुचुल्का गर्न सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाइएको थियो । तर, सोही क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहितका व्यवसायीहरू घटनास्थलमा पुगेर प्रहरीलाई चाँदी लैजान नदिने अडान लिए । प्रहरीका अनुसार, भण्डारीले ‘पुलिसलाई खेदौं’ भन्दै व्यवसायीहरूलाई उक्साएपछि झडप सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रहार गरेको डिएसपी बमले जानकारी दिए ।

यता जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितले प्रहरीले धनतेरसको पूर्वसन्ध्यामा आतंक सिर्जना गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनका अनुसार, सुरुमा सिभिल पोसाकमा आएका ५ जना प्रहरीले पायल बनाउने बहानामा पसलमा प्रवेश गरेका थिए । पछि थप २०-२५ जना प्रहरी आएर चाँदी लैजान खोज्दा व्यवसायीहरूले विरोध जनाएका थिए ।

महासचिव पण्डितका अनुसार, व्यवसायीहरूले धनतेरसको मुखमा यस्तो कार्य नगर्न आग्रह गर्दा प्रहरीले एक्कासि लाठीचार्ज सुरु गर्‍यो र त्यसपछि हवाइ फायर तथा अश्रुग्यास प्रहार गर्‍यो । सोही क्रममा संघका अध्यक्ष भण्डारी घाइते भएको उनको भनाइ छ । उनले प्रहरीको यो कार्यको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रहरीले छापा मार्ने क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शंकरहरि आचार्यसँग कुनै समन्वय नगरेको खुलेको छ । सिडिओ आचार्यले आफूलाई यस विषयमा औपचारिक जानकारी नभएको र राजस्व अनुसन्धान विभागबाट समन्वय गरेर प्रहरी गएको सुनेको बताए । उनले समन्वय गरेको भए सशस्त्र प्रहरी पनि जान्थ्यो र राम्रो हुने तर्क गरे ।

यद्यपि, डिएसपी बमले भने राजस्व अनुसन्धान विभाग, पथलैयासँग समन्वय गरेरै आफूहरू छापा मार्न गएको दाबी गरेका छ न्। उनले राजस्व छलेर चाँदीको कारोबार भइरहेको सूचना आएपछि राजस्व अनुसन्धान विभागलाई संयुक्त कारबाहीका लागि आग्रह गरेको र विभागले प्रहरीलाई नै अनुसन्धान गर्न भनेपछि आफूहरू गएको बताए । जनकपुरधाममा प्रहरीको नेतृत्व परिवर्तन भएको केही दिनमै यो घटना भएको हो । 

धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको र उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी गणेशबहादुर बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ । 

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues