
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) आगामी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने अन्तिम टोली बनेको छ ।
ओमानको मस्कटमा जारी एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा बिहीबार भएको निर्णायक खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गर्दै विश्वकप यात्रा सुनिश्चित गरेको हो ।
सुपर सिक्सको पहिलो दुई खेलमा नेपाल र ओमानसँग हार ब्यहोरेको यूएईले अन्ततः लगातार दोस्रो जित निकाल्दै भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने आईसीसी ट्वान्टी–२० विश्वकपको १०औँ संस्करणमा स्थान पक्का गरेको हो ।
यसअघि नेपाल र ओमान बुधबारकै खेलमा विश्वकपका लागि छनोट भइसकेका थिए । नेपालले ८ अंकसहित शीर्ष स्थानमा रहँदा, यूएई र ओमान दुवैको ६ अंक भए पनि नेट रनरेटका आधारमा यूएई दोस्रो स्थानमा उक्लिएको छ। जापान भने २ अंकमा सीमित भएको छ ।
शुक्रबार ओमान र जापान आमनेसामने हुने छन् भने नेपालले सामोआसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा नेपाल विजयी भए ९ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेता बन्नेछ । नेपाल र सामोआ पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् ।
अल एमेरेट क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । वाटारु मियाउचीले ३२ बलमा ४५ अविजित रन बनाए भने इसाम रहमानले २३ रनको योगदान दिए । यूएईका हैदर अलीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट झारे ।
जवाफी ब्याटिङमा यूएईले अलिसान सराफु र कप्तान मोहम्मद वासिमको आक्रामक साझेदारीमा सहज जित हात पार्यो । वासिमले २६ बलमा ४२ रन र सराफुले २७ बलमा ४६ रन बनाए । यूएईले लक्ष्य १२.१ ओभरमै पूरा गर्दै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्यो ।
सन् २०२३ मा नेपालसँग मूलपानीमा सेमिफाइनलमा पराजित हुँदै विश्वकप गुमाएको यूएईले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै पुनः विश्वकपमा फर्किने अवसर पाएको छ ।
#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues