0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन आवश्यक रहेको बताएका छन्। स्रोतसाधनको अभावमा निर्वाचन कार्य प्रभावित हुनसक्ने भन्दै सरकार यस विषयमा सचेत रहेको उनको भनाइ छ।

शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै अर्यालले प्रहरीलाई साधनसम्पन्न बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए। उनले सरकारले प्रहरीलाई स्रोतसाधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने प्रतिबद्धता पनि जनाए।

गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताए। गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब भएको उनको जिकिर छ। जेन-जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानसमेत लुटपाट र आगजनी भएको र स्रोतसाधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले उल्लेख गरे।

उनले भने, ‘समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानुन कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभई सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ। यही भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब हो। जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गरेका छन्। साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरू पनि लुटपाट र आगजनी भएका छन्। त्यसै त अभाव, झन् त्यसमाथि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ। न्यून साधनस्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ।’

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व रहेको स्मरण गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाका लागि महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोतसाधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको बताए। ‘प्रहरीलाई साधनस्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए। यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ। नेपाल प्रहरीलाई साधनस्रोतले सुसज्जित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले उल्लेख गरे।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues