0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित प्रभावशाली व्यक्तिहरूको सम्पत्ति छानबिन सुरु गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा यो अनुसन्धान अघि बढाइएको हो ।

विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि छानबिन थालेको छ । यसबाहेक, देउवाका पुत्र जयवीरसिंह पनि अनुसन्धानको दायरामा परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यी नेता तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी, कारोबार, र जग्गाजमिनको विस्तृत विवरण संकलनका लागि विभिन्न सरकारी निकायहरूमा पत्राचार गरिसकेको छ ।

  • नेपाल राष्ट्र बैंक: बैंक/वित्तीय संस्थामा रहेका खाता, नगद, गरगहना र सम्पूर्ण बैंकिङ कारोबारको विवरण माग गरिएको छ ।

  • नेपाल धितोपत्र बोर्ड: सेयर लगानी र धितोपत्रसम्बन्धी कारोबारको जानकारी ।

  • कम्पनी रजिस्ट्रार कार्यालय: कम्पनी दर्ता, स्वामित्व र कारोबारसम्बन्धी विवरण ।

  • भूमि व्यवस्थापन तथा अभिलेख विभाग: ७७ वटै जिल्लाका मालपोत कार्यालयमार्फत जग्गाजमिनसम्बन्धी सम्पूर्ण विवरण ।

जलेका नोटको रहस्य र फरेन्सिक परीक्षण
भदौ २४ गतेको जेन-जी प्रदर्शनका क्रममा देउवा र खड्काको बूढानीलकण्ठस्थित निवास तथा दाहालको खुमलटारस्थित निवासमा जलेका नोटका टुक्रा र खरानी भेटिएको थियो । विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लाई यसको फरेन्सिक परीक्षण प्रतिवेदन बुझाउन आग्रह गरेको छ । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा आरोपित व्यक्तिको मात्र नभई घर तथा ससुरालीतर्फका तीन पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी र कारोबारको पनि जाँचबुझ हुनेछ। विभिन्न निकायबाट विवरण प्राप्त भएपछि दोस्रो चरणको अनुसन्धान सुरु हुने र आरोपितहरूसँग बयान लिने तयारी रहेको विभागका अधिकारीले बताएका छन् । देउवा, ओली र दाहालजस्ता लामो समयदेखि सत्ता र शक्तिको केन्द्रमा रहेका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको यो पहिलो पटक हो ।

सार्वजनिक खरिद, विभिन्न नियुक्ति, सरुवा/बढुवा, राष्ट्रिय सम्पत्ति हिनामिनालगायत अनेकौं प्रकरणमा विवादित भए पनि उनीहरूमाथि यसअघि कहिल्यै छानबिन भएको थिएन । तर जेन-जी विद्रोहले तत्कालीन सरकार ढालेपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यसै क्रममा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अन्तरिम सरकारले पुनः अर्थ मन्त्रालयमा फिर्ता गरेको थियो ।

प्रमुख नेताहरूको विवादास्पद विगत:

  • शेरबहादुर देउवा: २०४८ सालदेखि निरन्तर सार्वजनिक लाभको पदमा रहेका र पाँच पटक प्रधानमन्त्री बनेका देउवा तथा उनकी पत्नी आरजु राणा देउवामाथि जेन-जी विद्रोहका क्रममा निवासमै हातपात भएको थियो ।

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’: २०६२/६३ को परिवर्तनपछि तीन पटक प्रधानमन्त्री बनेका दाहालमाथि माओवादी लडाकु भरणपोषण खर्च हिनामिना गरेको आरोप लाग्दै आएको छ । उनी विवादास्पद व्यवसायी शारदा अधिकारीको घरमा बस्दै आएका थिए, जुन घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

  • केपी शर्मा ओली: चार पटक प्रधानमन्त्री बनेका ओलीमाथि विवादास्पद व्यापारीलाई पोसेको, सरकारी/सार्वजनिक सम्पत्ति कौडीको भाउमा सुम्पिएको (गिरीबन्धु टी-इस्टेट प्रकरण) र कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

  • दीपक खड्का: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स र ठेक्कामा अनियमितता, तथा नेपाल स्काउटको जग्गा हिनामिनामा मुछिएका खड्काको आर्थिक स्रोतमाथि यसअघि कहिल्यै छानबिन भएको थिएन ।

जेन-जीको आक्रोश र आन्दोलनको मुख्य कारण नै भ्रष्टाचार नियन्त्रण र पहुँचवालालाई कारबाही नहुनु थियो । वाइडबडी जहाज खरिद, सुडान घोटाला, लडाकु शिविर अनियमितता, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, सहकारी ठगी, ओम्नी काण्डजस्ता अनगिन्ती भ्रष्टाचारका घटनामा राजनीतिक नेताहरू मुछिएका थिए । यसै सन्दर्भमा अहिले सुरु भएको यो बृहत् अनुसन्धानलाई नेपालको भ्रष्टाचारविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues