
काठमाडौं । इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्समा शानदार प्रदर्शन गर्दै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दुई खेल अगावै विश्वकपमा छनोट भएपछि नेपाली टोलीको आत्मविश्वास चुलिएको छ, र अब उनीहरूको नजर छनोट चरणको उपाधिमाथि छ ।
बुधबार राति भएको रोमाञ्चक खेलमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि यात्रा थप बलियो बनेको हो । यस जितसँगै नेपाल सुपर सिक्सको ८ अंकसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६-६ अंक भए पनि यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ ।
नेपालले अब आज दिउँसो ४:१५ बजे सामोआसँग आफ्नो अन्तिम सुपर सिक्स खेल खेल्दैछ । अंकविहीन सामोआ पुछारमा रहेकाले यो खेल नेपालका लागि ‘फाइनल’ सरह हुनेछ । यदि नेपालले सामोआलाई हराउन सकेमा १० अंकसहित अपराजित रहँदै ऐतिहासिक छनोट उपाधि चुम्नेछ । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले यो उपाधि पहिलो पटक उचाल्ने अवसर पाएको छ ।
विश्वकपमा स्थान पक्का भएसँगै कप्तान रोहित पौडेलले अबको सपना उपाधि उचाल्ने रहेको बताएका छन् । ‘ओमानलाई हराएसँगै विश्वकप खेल्ने सपना पूरा भएको छ । अब हाम्रो लक्ष्य छनोटको उपाधि जित्नु हो,’ रोहितले भने ।
उपाधिको समीकरण:
-
नेपाल विजयी भए: सामोआलाई पराजित गरेमा नेपाल १० अंकसहित अपराजित च्याम्पियन बन्नेछ ।
-
नेपाल पराजित भए र ओमान विजयी भए: यदि नेपाल पराजित भयो र ओमानले जापानलाई हराएमा, रनरेटका आधारमा शीर्षस्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ ।
-
नेपाल पराजित भए र ओमान पनि पराजित भए: यदि ओमान जापानसँग पराजित भयो भने, सामोआसँगको खेलको नतिजा आउनुअघि नै नेपालले उपाधि उचाल्नेछ । (जापान र ओमानको खेल आज बिहान ११:४५ बजे सुरु हुँदैछ ।)
नेपालसँगै ओमान र यूएईले पनि टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । सुपर सिक्सबाट जापान, कतार र सामोआ भने बाहिरिसकेका छन् ।
#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues