0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन निष्पक्ष र भयरहित वातावरण निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आवधिक निर्वाचन नै लोकतन्त्रको गहना भएको कारण लोसपा निर्वाचनको पक्षमा रहेको बताए । उनले वर्तमान सरकार असंवैधानिक भएपनि आवश्यकताको सिद्धान्तको आधारमा आफूहरूले स्वीकार गरेको दाबी पनि गरे । उनले अहिले संविधान अर्धमृत अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनभन्दा अगाडि संविधानलाई चलाउने काम गर्न नहुनेमा जोड दिए ।

झाले निर्वाचनभन्दा अघि संविधानमाथि छेडखानी गर्ने कुनैपनि प्रयास लोकतन्त्रका लागि घातक हुने चेतावनी पनि दिए । उनले वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भएपनि सरकार प्रमुख र मन्त्रीहरू जिम्मेवारी विमुख हुन खोजेको आरोप पनि लगाए ।

उनले भने ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचनको पक्षमा छ । आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । तर हाम्रो संविधान अर्धमृत अवस्थामा पुगिसकेको छ । अहिलेका प्रधानमन्त्रीमन्त्रीको नियुक्ति नै असंवैधानिक देखिन्छ । यद्धपी डक्टिन अफ नेसेसिटी भनेर त्यसलाई मान्यता दिएका छौँ । र आवश्यकताको सिद्धान्तअनुसारले यो संविधानलाई टेकेरै भएपनि अगाडि बढौँ भनेका छौँ । यद्यपि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधानमा हस्ताक्षर गरेको छैन । तथापि देश र मुलुकको स्वाधीनताको सवालमा एकताबद्ध भएर सबै नेपालीहरू उभिनुपर्छ । त्यसकारण संविधानमा टेकेरै अगाडि बढौँ । निर्वाचनभन्दा अगाडि यो संविधानलाई छुने काम कसैले पनि गर्नुहुँदैन । यो सरकारको एउटा मात्र म्यान्डेट निर्वाचन गराउने हो । तर सरकार प्रमुख र मन्त्रीहरूको अभिव्यक्ति र क्रियाकलाप चाहिँ निर्वाचन गराउनेभन्दा पनि अर्कैतिर गएको देखिन्छ । उहाँहरूको स्टन्ट गर्नेतिर बढी ध्यान केन्द्रित छ । निर्वाचनको लागि भयरहित वातावरणको सुनिश्चितता जुन सरकारले गर्नुपर्ने हो त्यो देखिँदैन । समाजमा नैराश्यता छ, आक्रान्त भएको अवस्था छ । जेलमा रहेका कुख्यात कैदीहरू गाउँ पसेका छन् । हतियारहरू लुटिएका छन् । यस्तो अवस्थामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा कयौंपटक निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूमा आशंका उत्पन्न गरेको छ । आज राजनीतिक दलहरूले निर्वाचन आयोगले सरकारको भनेको कुरामा हो मा हो मिलाउने भन्दा पनि निष्पक्ष र भयरहित वातावरण बनाउन भनेर भन्नुुपयो भन्ने कुरा राखेका छौँ ।’

उनले समाजमा नैराश्यता र आक्रान्त फैलिएको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले प्रहरीको मनोबल बढाउँदै लुटिएका हतियार फिर्ता र कैदीहरूलाई थुन्ने कार्यमा ढिलाइ गर्न नहुने पनि बताए ।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues