0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौँ । बडादसैँ सकिएसँगै ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५, चुप्लुका ४३ वर्षीय राजकुमार राई आफ्नो नाङ्लो बुन्ने पेसामा व्यस्त छन् ।

उनले सानैमा बुबासँग नाङ्लो बुन्न सिकेका थिए । बिहानभरि नाङ्लो बुनेर दिउँसो विद्यालय जान्थे उनी । अनि फेरि बेलुका घर फर्केर साथीहरूसँग नाङ्लो बुन्थे । यसरी सानैमा उनले नाङ्लो बुन्ने सिप सिके ।

गाउँमै एसएलसी दिएपछि उनी सहर पसे । काठमाडौँमा आईए पढाई सकेर उनी पस्मिनामा मास्टरको काम गर्थे । त्यसपछि उनले आफ्नै पस्मिना उद्योग पनि खोले । तर पस्मिनाको अर्डर आउन छाडेपछि उनी रोजगारीका लागि मलेसिया जान बाध्य भए ।

२२ महिना मलेसिया बसेर नेपाल फर्किएका उनी फेरि बहराइन गए । त्यहाँ साढे बाह्र वर्ष काम गरे । त्यसबिच उनको नेपाल आवत–आजत भइ नै रह्यो । तर फुर्सतमा उनले नाङ्लो बुनेर बुबालाई सघाइ नै रहे ।

अहिले विगत ५ वर्षदेखि उनी पुनः नाङ्लो बुन्ने काममा नै व्यस्त छन् । विदेशमा अलि ज्यादा पैसा कमाउने भएपनि बुबासँगै घरमा बसेर काम गर्दा आफूले सन्तुष्टिको जीवन बिताइरहेको उनी बत्ताउँछन् ।

भन्छन् ‘विदेशमा अलि पैसा हुन्छ तर गाउँमा नाङ्लो बुनेर पनि सन्तुष्ट नै छु । बुबा घरमा हुनुहुन्छ, छोरा घरमा छ भन्नुहुन्छ, हामी हाँसी खुसी छौँ ।’

उनको स–परिवार काठमाडौँमा नै बस्छन् । काठमाडौँको बालाजुमा उनले एउटा सानो घर पनि बनाएका छन् । पहिले उनी पनि सहरमै बस्ने गर्थे तर बुबा सहरमा बस्न नमान्नुभएपछि उनी बुबासँगै गाउँ फर्किएका हुन् ।

अहिले दुवै बाबु–छोरा गाउँमा नाङ्लो बुनेर जिविकोपार्जन गर्दै आएका छन् । ‘पढे, लेखेका व्यक्तिले सानो–तिनो काम गर्नुहुँदैन’ भन्ने मानसिकता रहेको हाम्रो समाजमा राई भने बाबुकै पेसा अङ्गालेका एक उदाहरणीय पात्र हुन् ।

यसैक्रममा हामीले उनीसँग नाङ्लो पेसाबाट हुने आम्दानी, वर्तमान अवस्था, कच्चा पदार्थको आपूर्ति, समस्या र भविष्यको योजनाबारे कुराकानी गरेका छौँ । यस्तो छ, कुराकानीको सम्पादित अंश:

यी नाङ्लोहरू कहाँ लगेर बिक्री गर्नुहुन्छ ?

ओखलढुङ्गा बजारमा लाग्ने । बुधबारे र शनिबारे बजारमा लगेर बेच्छौँ । प्राय खुद्रा भन्दा पनि ठेकेदारलाई बेच्छौँ । बिहानै जान्छौ ठेकेदारलाई दिन्छौँ ।

नाङ्लोबाट कति आम्दानी हुन्छ ?

३ सय रुपैयाँ गोटामा नाङ्लो बेच्छौँ । धान कोदो भित्र्याउने बेला चाहिँ कहिले ३५० सम्म पनि आउँछ । कहिले २५० पुग्छ यसको मूल्य । यसको भाउ ठ्याक्कै टुङ्गो हुदैँन् । हप्तामा ४०–५० ओटा बुन्छौँ । त्यसो गर्दाखेरि ४०–५० हजारसम्म हुन्छ । थोरै बुने १५, २० हजार, धेरै बुने त्यत्तिसम्म हुन्छ । जति बुन्न सक्यो त्यति हुन्छ । पैसा चाहिँ छ यो पेसामा ।

बिक्री वितरणमा समस्या छ कि छैन ?

बिक्री वितरणमा समस्या छैन । अहिले खेतीपाती गर्नेको संख्या घट्दै गइरहेको छ । हामी सानो हुँदा पहिले चुप्लु, र्‍याले, डाडाँखर्कमा धेरै नाङ्लो बुनिन्थ्यो । यहाँबाट हप्तामा ६, ७ सय बुन्थ्यौँ भने अहिले डेढ २ सय बुन्ने मात्र छौँ । त्यही पनि भाइबहिनीहरूले अहिले यो पेसा गर्नै मान्दैनन् ।

यो पेसा एकदम झन्झट छ । चोया काट्नेदेखि लिएर बनाउनेदेखि लिएर झन्झट हुन्छ । अनि भाइबहिनीहरूले पढ्छन्, लेख्छन् र सहर जान्छन् । उतैतिर जान्छन्, कोही विदेश जान्छन् । त्यसैले गर्दा यो पेसा चाहिँ एकदमै लोप हुने अवस्थामा छ । अब हामीसम्मले होला त्यसपछिको पुस्ताले नाङ्लो बुन्दैन जस्तो लाग्छ मलाई ।

नाङ्लो बुन्ने चोया कहाँबाट ल्याउनुहुन्छ ?

हाम्रै बारीको पाटामा लगाएका छौँ । आफ्नै छ अहिले । पहिले पहिले चाहिँ धेरै टाढा बोक्न जानुपथ्र्यो । अहिले बुबाहरूले बारीको पाखातिर खोल्साखोल्सीतिर लगाउनु भएको छ । त्यही भएर टाढा जानु पर्दैन ।

पहिले दिनभरि बोकेर ल्याउनुपथ्र्यो । अहिले बिहान गयो, काट्यो, ल्यायो ।

चोयाबाट अरु के–के बनाउनुहुन्छ ?

नाङ्लो, चाल्नो, डोकोहरू पनि बुन्छम हामी । बारीमा सुन्तला पनि लगाएका छौँ । कोदो, केरा लगाएको छु, कुखुराहरू पालेको छु । भैँसी पालेका छौँ । बर्खामा कृषि गर्छौ, कृषि सकिएपछि हिउँदमा चैँ यो काम गर्छौँ ।

अन्य समस्या के के छन् ।

बजार व्यवस्थापनको समस्या छ अहिले मुख्य चाहिँ । बजार व्यवस्थापन राम्रो भयो भने थुप्रै बुन्न सकिन्छ । बर्खाको समयमा चाहिँ अलि कम बिक्री हुँदा समस्या हुन्छ । बनाउने पनि निराश हुन्छ । तर अब चाहिँ सिजन आउदैछ । जति बजार लगे पनि भारी बिसाउन नपाउँदै ठेकेदारहरूले लानुहुन्छ ।

पढे-लेखेको मान्छे भएर नाङ्लो बुन्दा लाज लाग्दैन ?

काम भनेको ठुलो भएपनि सानो भएपनि कामै हो । कोही लाज मान्नेले मान्छन् होला । तर म चाहिँ भारी पनि बोक्छु । घाँस पनि काट्छु । नाङ्लो पनि बुन्छु ।

मैले काठमाडौँको बालाजुमा सानो घर बनाएको छु । मेरो बसाई उतै हो । परिवार पनि उतै छन् ।

मार्केटिङ कसरी गर्नुभयो ?

सुरुमा स्थानीय बजार हो हाम्रो । जहिले पनि बुनिसकेपछि त्यही लाने । शनिवारे बजार । सबै टाढा टाढाबाट आउँथे । अहिले चाहिँ गाडीको व्यवस्था भएर टाढा टाढाबाट त्यत्ति आउँदैनन् । उतैबाट ठेकेदारले लिएर जान्छन् ।

मलाई लाग्छ ओखलढुङ्गामा बुनेको नाङ्लो तराईतिर मार्केटिङ गर्न सक्यो भने जति बुनेपछि नाङ्लोको खपत हुन्छ ।

त्यसको सुरुवात चाहिँ यहाँले नै गर्नुपर्यो !

फेसबुक पेज त मैले पनि बनाएको छु । पेज भएर मात्र नहुने रहेछ । त्यसलाई पनि समय समयमा विभिन्न ठाउँमा गएर ओखलढुङ्गामा यस्तो नाङ्लो हुन्छ भनेर देखाउनु पर्ने हुन्छ । अनि मार्केटिङ त त्यहाँबाट पो सुरु हुन्छ त । नभए ‘फलाना ठाउँमा नाङ्लो छ रे । हामीले पनि लिन्थ्यौँ । हामीले कहाँबाट लिने ’ भनेर पेजमा म्यासेज आउँछ । मलाई लौन ५ ओटा ल्याइदिनु पर्यो भन्नुहुन्छ । ५ ओटै मात्र पठाउन सकिँदैन । १, २ वटा पठाउन सकिँदैन त्यसको ट्रान्सपोर्टेसन खर्च लाग्छ । त्यहाँबाट हराउन पनि सक्छ ।
२०, ५० ओटा सम्म अर्डर गर्नुभयो भने चाहिँ पठाउन सकिन्छ ।

तपाईँको भविष्यको योजना के छ ?

आगामी दिनमा योजनाहरू त थुप्रै छन् तर पनि मार्केटिङ गर्न थाल्यो, प्रोडक्सनमा समस्या, प्रोडक्सन गर्यो भने मार्केटिङमा समस्या हुन्छ । त्यही लोकल बजारमै छौँ । जनशक्तिको पनि अभावै छ ।

पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

हाम्रो पुर्खौली पेसाहरुलाई जोगाई राखौँ । कसरी हुन्छ सिकी राखौँ । ओखलढुङ्गाको चुप्लु गाउँ नाङ्लो बुन्ने गाउँ नै भनेर चिन्नुहुन्छ सबैले ।
बसाइसराइको कारणले गाउँ रित्तिँदै छ । एक जना, दुई जना, ३ जना घरमा छन् । पहिले एउटा घरमा ६, ७ जना बच्चा बच्ची हुन्थ्यो । बाँदरले दु:ख दिएर बाली लगाउन पनि छाडिसकेको छ । त्यही भएर पनि नाङ्लोको व्यापार न्यून भएको होला ।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues